२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

धनुषा  : विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी

बुधवार , पौष ७, २०७८


जनकपुरधाम, पुस  । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय सेवा आयोगमा ‘पेपर कोर्स कन्ट्याक्ट’ शिक्षकद्वारा तालाबन्दी गरिएको छ । 
धनुषाको जनकपुरमा चार वर्षअघि स्थापना भएको सो विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेपछि सो विज्ञापनप्रति असन्तुष्टि व्यक्त गर्दै सोही विश्वविद्यालयका ‘पेपर कोर्स कन्ट्याक्ट’ शिक्षकहरूले सोमबार तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष कार्यकक्ष र लेखा शाखामा ‘कन्ट्याक्ट’ शिक्षकले तालाबन्दी गरेको आयोगका अध्यक्ष प्राडा शैलेन्द्र लाभले जानकारी दिए ।  उनले भने, “कुनै जानकारी बिना नै कन्ट्याक्ट शिक्षकले आफ्नो कार्यका र लेखा शाखा तालाबन्दी गरे । 
विज्ञापन नियम अनुसार खुलाइएको छ । यसमा आयोगप्रति कसैको कुनै आपत्ति नहुनुपर्ने हो ।”  उनले यसरी विज्ञापनको विषयलाई लिएर कन्ट्याक्ट शिक्षकले जानकारी बिना तालाबन्दी गर्न नहुने तर्क गरे ।  
‘पेपर कोर्स कन्ट्याक्ट’ शिक्षक सङ्घका सभापति दिलीप यादवले “स्थापनाकालदेखि विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकको उमेरसमेत पार भइसक्यो तर सेवा आयोगले अनुभवको कुनै मूल्याङ्कन नै नगरी निकालेको विज्ञापनप्रति असन्तुष्टि व्यक्त गर्दै हामीले बाध्य भएर तालाबन्दी गरेका हौँ,” । उनले रजिष्ट्रार, उपकुलपति, सेवा आयोगका अध्यक्ष, सदस्यहरूलाई जानकारी गराउँदा एकतर्फ आश्वासन मात्र दिने अर्कोतर्फ एक्कासि विज्ञापन आह्वान गर्ने काम भएकाले आफूहरूको उमेर, अनुभवलाई ग्राह्यता नदिएको देखिएपछि तालाबन्दी गरेको बताए । 
उहाँले केन्द्रीय कार्यालयमा उपप्राध्यापकको दरबन्दी २६ जनाको रहेकोमा २१ वटामा मात्र विज्ञापन गरेको आरोपसमेत लगाएका छन ।  विश्वविद्यालयमा अहिले भूगोल विषयको पढाइ नभए पनि त्यसका लागि समेत दरखास्त आह्वान गरिएको तर पढाइ भइरहेको विषयहरूको विज्ञापन ननिकालिएको करार शिक्षकहरूको आरोप छ ।
विश्वविद्यालयले सोमबार उपप्राध्यापक पदमा २१ वटा पदका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले जनस्वास्थ्य, कानुन, कम्प्युटर एप्लिकेसन, अङ्ग्रेजी, अर्थशास्त्र, तथ्याङ्कशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल, हेमाटोलोजीलगायत विषयको उपप्राध्यापक पदमा भर्नाका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले कर्मचारी भर्नाका लागि प्राविधिक अधिकृतदेखि लिएर ल्याब ब्वाईसम्मका लागि १३ वटा दरबन्दीमा भर्नाका लागि विज्ञापन प्रकाशित गरेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार