२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल फर्कने ९ हजार ३८५ को नामावली सार्वजनिक

नेपाली राजदूतावास दोहा

शुक्रवार , श्रावण ३०, २०७७

 

कतार, साउन  । कतारबाट नेपाल फर्किने ९ हजार ३८५ जना नेपालीको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६२८ जनाको विवरण दूतावासलाई बुझाएका छन् ।

२६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीको नामावली दूतावासले प्रकाशित गरेको हो ।

दूतावासले प्रकाशित गरेको नामावलीमध्येबाट प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो ।

कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

कोभिडका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् । समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् ।

लामो समय नियमित हवाई उडान बन्द हुँदा यहाँ रोजगारी गुमाएर बसेका श्रमिकहरु समस्यामा रहेका छन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार