काठमाडौं,भदौ । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढी तथा त्यसले विभिन्न जिल्लामा पुर्याएको अपूरणीय क्षतिको विवरण अनुसार हालसम्म एक हजार तीन जनाको मानवीय क्षति पुष्टि भएको छ।
प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लाहरूबाट ठूलो संख्यामा शव तथा मानव अंगहरू फेला परेका छन्।
फेला परेका शवहरूमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जना रहेका छन्।
चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ।
विपद्का यस घटनामा परी हालसम्म २७९ जना घाइते भएका छन् भने विभिन्न अस्पतालबाट १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रबाट हालसम्म कुल ११ हजार ८८४ जनाको सकुशल उद्धार गरिएको छ।
विशेष गरी नेपाली सेनाले मात्रै हवाई माध्यमबाट ३ हजार ५०९ जना नेपाली र २७३ जना विदेशी नागरिकको सफल उद्धार गरेको जनाएको छ।