२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय सभाको बैठक : 'राष्ट्रिय विपत्तिविरुद्ध जुध्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने'

मंगलवार , भाद्र १६, २०८३

काठमाडौं.भदौ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राष्ट्रिय विपत्तिविरुद्ध जुध्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने र विनाशकारी भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्वचेतावनीलाई कडाइका साथ कार्यान्वयन गर्न र भविष्यका लागि विपद्–उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकमा नेपाली कांग्रेसकी सांसद कमलादेवी पन्तले पूर्वचेतावनीलाई बेवास्ता नगरी तत्काल कार्यमा परिणत गर्न, बेपत्ता नागरिकको खोजीमा सम्पूर्ण शक्ति प्रयोग गर्न र जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न आग्रह गरिन्।

नेपाली कम्युनिष्ट पार्टीकी जयन्तीदेवी राईले प्रभावितलाई तत्काल उचित राहत दिन माग गरिन् भने सोही पार्टीका नरबहादुर विष्टले विपद्को समयमा एकद्वार प्रणालीबाट राहत वितरण गर्दा प्रभावितहरू थप पीडामा पर्न सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे। कांग्रेसका नारायणदत्त मिश्रले मुलुकको उत्तरी भेकका जोखिमपूर्ण हिमतालहरूको तत्काल अध्ययन गर्न र विपद्–उत्थानशील पूर्वाधारको योजना बनाउन सुझाव दिए।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ ले सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वयमा खोज, उद्धार, राहत, पुनर्वास र पुनर्निर्माण गर्न माग गरिन् भने कांग्रेसका युवराज शर्माले कमजोर पूर्वसूचना प्रणालीका कारण ठूलो क्षति भएको औँल्याउँदै त्यसलाई अत्याधुनिक बनाउन ध्यानाकर्षण गराए।

नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रलक्ष्मी गैरेले जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकहरूको शीघ्र उद्धारका लागि थप क्रियाशीलता बढाउन माग गरे भने सोही पार्टीका सुरेशकुमार आले मगरले जलवायु परिवर्तनका कारण यो विपत्ति सिर्जना भएकाले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सोनाम ग्याल्जेन शेर्पाले विपद्सँग जुध्न सिङ्गो मुलुक एक हुनुपर्ने आवश्यकता औँल्याउँदै बाढी प्रभावितको उद्धारका लागि भइरहेका सरकारी प्रयासहरूको सराहना गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार