काठमाडौँ.साउन ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली (आकाशमा बादल) रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम किसिमको वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
त्यसैगरी, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।