२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कप्तानगञ्ज हिंसात्मक घटना

प्रहरीले भन्यो : ' घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ '

आइतवार , श्रावण २४, २०८३

 

सुनसरी, साउन ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

 

उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ, डीएसपी खड्काले भने, ' पक्राउ परेकाहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

कप्तानगञ्जमा केही समयअघि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए । घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।

घटनाको वास्तविक कारण, हिंसा भड्किनुको अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र पक्राउ परेकाहरू माथि बयान लिने काम गरिरहेको छ । घटनाको अनुसन्धानपछि दोषी देखिएका माथि प्रचलित कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीको भनाइ छ । - गाेरखापत्रबाट

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार