काठमाडौं, साउन ।
पाकिस्तानस्थित विश्वको १२ औं अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी मृत्यु भएका पर्वतारोही निर्मल पुर्जा निम्स दाइ सहित ६ नेपाली आरोहीको शव स्वदेश ल्याउन पहल अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १४ गते (३० जुलाई २०२६) ब्रोड पीकको करिब ६,६०० मिटर उचाइमा क्याम्प- २ बाट क्याम्प- ३ जाने क्रममा आएको हिमपहिरोमा परी निम्स दाइसहित पुरबहादुर गुरुङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको जनाएको छ ।
दुर्घटनामा उनीहरूसँगै आरोहणमा रहेका अन्तर्राष्ट्रिय टोलीका सदस्यहरूको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।
नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली पर्वतारोहीहरूको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र दिइएको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।
कठिन हिमाली भूभागमा खोजी तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली टोलीको साहसिक प्रयासको मन्त्रालयले प्रशंसा गरेको छ ।
दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ युक्ता र ग्यालु शेर्पाको शव फेला परिसकेको र अन्य आरोहीहरूको खोजी कार्य अझै जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिवंगत नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन पाकिस्तानस्थित नेपाली राजदूतावास, इस्लामाबादमार्फत आवश्यक सहजीकरण भइरहेको जनाएको छ ।
यस दुःखद घटनाप्रति नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै शोकसन्तप्त परिवारजनप्रति मन्त्रालयले गहिरो समवेदना व्यक्त गरेको छ ।