काठमाडौं, चैत ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाईका लागि पेसी तोकेको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको माग गर्दै दर्ता भएको पूर्वप्रधानमन्त्री ओलीको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।
ओलीलाई शनिबार पक्राउ गरेपछि आइतबार ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी थिइन्।
यसैगरी गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको माग गर्दै दर्ता भएको पूर्वगृहमन्त्री लेखकको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।
पक्राउ गरेपछि आइतबार लेखकका तर्फबाट यशोधा लेखकले निवेदन दर्ता गराएकी थिइन्। गत भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई शनिबार पक्राउ गरिएको हो।
जिल्ला अदालत काठमाडौंले आइतबार ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।