२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपद् जोखिम प्राधिकरण भन्छ

देशभर २४ घण्टामा ३८ विपद्का घटना  : ' तीन जनाको मृत्यु '

शनिवार , चैत्र १४, २०८२

 

काठमाडौँ, चैत ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भएका छन् । यी घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् ।

प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार यस अवधिमा एक करोड १४ लाख ७२ हजार रुपियाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

आगलागी र सर्पदंशबाट मानवीय क्षति

प्राधिकरणका अनुसार आगलागीका १५ घटनामा परी दुई जनाको मृत्यु भएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित भएका छन् भने एक जना घाइते भएका छन् ।

त्यस्तै, सर्पदंशका दुई घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो ।

विपद्का घटनाको विस्तृत विवरण

पछिल्लो २४ घण्टामा बाढीका पाँच, पहिरोका चार, चट्याङका पाँच र हावाहुरीका तीन वटा घटना भएका छन् । चट्याङका कारण नौ जना घाइते भएका छन् भने हावाहुरीबाट एक जना घाइते भएका छन् ।

बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, वन डढेलोका दुई, अविरल वर्षाको एक र जनावर आक्रमणको एउटा घटना दर्ता भएको छ ।

वर्षभरिको भयावह तथ्याङ्क

विगत एक वर्षको - २०८२ वैशाख १ देखि) तथ्याङ्क हेर्दा कुल विपद्का घटना सात हजार २७९ पुगेका छन् । यी घटनामा हालसम्म ४८१ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् ।

यस्तै, घाइतेको सङ्ख्या एक हजार ९०६ पुगेको छ भने १३ हजार १५१ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यस वर्ष वैशाखयता आगलागीबाट सबैभन्दा बढी १०२ जनाको मृत्यु भएको छ । बाढीबाट ३८, पहिरोबाट ७६ र सर्पदंशका कारण ९८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार