काठमाडौँ, कात्तिक।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशका बाँकी तराई भू-भागहरूमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।