काठमाडौँ, चैत ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन । बालेन्द्र शाह -बालेन) नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, ‘नेपाल सरकारको प्रवक्तामा माननीय शिक्ष, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
त्यसैगरी, बैठकले सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्दै शनिबार सार्वजनिक गर्ने निर्णय गरेको छ । सँगै सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
सरकारले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न दुई आधार बनाएको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले भने, ‘आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिसबमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वष्यन गर्ने निर्णय गरेको छ ।