काठमाडौं, चैत ।
प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताएकी छन ।
उनले आज राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ' अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु,जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ ।
बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेकी छन । मैले जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय थियो, तर परिवर्तनकामी युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र निर्वाचन गराई जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले यो भूमिका स्वीकार गरेकी थिएँ उनले थपिन् ।
भदौ २७ गते गठित अन्तरिम चुनावी सरकारले आफ्नो ६ महिने कार्यकाल पूरा गरी नयाँ सरकार गठनका लागि बाटो खुला गरेको छ । २०८२ सालको भदौमा भएको जेनजी जनआन्दोलनपछिको जटिल परिस्थितिमा कार्यभार सम्हालेको यस सरकारले फागुन २१ गते सफलतापूर्वक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको छ ।
फागुन २१ गते एकै चरणमा सम्पन्न निर्वाचनले नेपालीहरूको राष्ट्रिय क्षमता र एकतालाई पुनः प्रमाणित गरेको प्रधानमन्त्रीको भनाइ छ । निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीहरूलाई उहाँले विशेष धन्यवाद ज्ञापन गरेकी छन ।
उनले विशेष गरी जेनजी आन्दोलनको मर्म अनुरूप नागरिकले स्पष्ट जनादेश दिएको र यसले विद्यमान निर्वाचन प्रणालीबारेका नकारात्मक भाष्यलाई गलत सावित गरिदिएको उल्लेख गरिन् ।
छ महिने अवधिमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि केही महत्त्वपूर्ण आधारशिला तयार पारेको जानकारी दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) लाई व्यावसायिक स्वतन्त्रता दिइएका कारण धेरै पुराना र दबाइएका प्रकरणहरूमा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
त्यस्तै, आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीहरूका लागि एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिइएको छ ।
प्रधानमन्त्री कार्कीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाई दिँदै युवाको नेतृत्वमा बन्ने आगामी सरकारले सुशासन, रोजगारी सिर्जना र आर्थिक विकासमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरेकी छन ।