काठमाडौं, चैत ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन ।
एशोसिएसन अफ नेपाली ओरिजिन -एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग विहीबार साँझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी दिएका हुन ।
एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नुपर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराए ।
नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उनले दिए । एएनओका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरु जोड्न नेपाल सरकार र दलहरुले उचित कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखेका हुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपाङ्ग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफल कार्यक्रममा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरु जुनसुकै बेला जे पनि हुनसक्ने त्रासद् अवस्थामा भएकाले उनीहरुको सुरक्षा र उद्दारको लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षण गरेको छ ।
एएनओले सभापति थापालाई दिएको ध्यानाकर्षण पत्रमा लाखौं लाखको सङ्ख्यामा रहेका उनीहरुको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गर्दै युक्रेन र रुसबीच चलिरहेको युद्धमा दुबै पक्षका सेनामा भर्ती भएका नेपालीहरुको तत्काल पहिचान गरी उनीहरुलाई स्वदेश फर्काउन गम्भीर कुटनैतिक प्रयास आवश्यक रहेकोतर्फ सशक्त आवाज उठ्नु जारुरी भएकोले गम्भीर हुन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, 'यसमा सभापतिज्यू र नेपाली कांग्रेसले उचित कदम चाल्नेछ भन्ने विश्वास लिएका छौं । साथै उनीहरुको उचित रोजगारीको व्यवस्था गर्ने चुनौतीपूर्ण कार्यमा समेत सशक्त आवाज उठाउनु जरुरी भएकोतर्फ सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।'
एएनओले विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मुलका, नेपालीभाषीहरुका लागि गैरआवासीय नेपालीसम्बन्धी नेपालको व्यवस्थाले समेट्न असमर्थ रहेको विद्यमान अवस्थामा संसारभर छरिएर रहेका नेपालीमूलका, नेपाली जातिका नेपालीहरुको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसँग सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्नु अहिलेको आवश्यकता रहेकोतर्फ ध्यानकर्षण गराएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिए ।
एसोसिएसन अफ नेपाली ओरिजिन९एएनओ० नेपाली मूलका मानिसहरुको एक साझा अभियानका रुपमा शुरुभएको छ । यही अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी समाजसेवी डिल्लीराम अधिकारीज्यू को अध्यक्षतामा २७ देशका नेपालीहरु थाइल्याण्डको राजधानी बैंककमा भेला भई केन्द्रीय कमिटी गठन गरेयता विभिन्न ७ मुलुकहरुमा राष्ट्रिय कमिटीसमेत बनिसकेका छन् ।