काठमाडौँ, फागुन । निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकले नीति, नेतृत्व, शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकोेले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन ।
उनले भने, ' निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो ।'
लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो ।
उनले फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइएको जानकारी दिए ।
मतदान प्रक्रियाको तयारीका सिलसिलामा रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको तथा सर्लाही एवम् मुस्ताङ्ग जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।