काठमाडौं, फागुन । निर्वाचन आयोगले हुम्ला र डोल्पासहित विभिन्न १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने जनाएको छ ।
आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हुम्ला र डोल्पामा मतदानका लागि आवश्यक सामग्री र कर्मचारी समेत हेलिकप्टरमार्फत नै पठाएको जानकारी गराएको छ । अन्य निर्वाचन क्षेत्रमा सवारी साधनबाट सबै सुरक्षा संयन्त्रको सहयोगमा संकलन गरिने जनाएको छ ।
एकीकृत सुरक्षा व्यवस्था अनुसार नै सुरक्षा व्यवस्था सरकारले मिलाएको जानकारी आएको समेत आयोगले जनाएको छ । तीन घेरामा सुरक्षा प्रबन्ध गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयोगले मतपेटिका ढुवानी गर्दा परिवर्तनको सम्भावना नभएको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ढुवानी गर्दा मतपेटिका परिवर्तन गर्न सक्ने अवस्था नै नहुने दावी गरेका छन् ।
विगतमा झै यस पटक पनि सुरक्षा प्रबन्ध मिलाइएको उनले जानकारी दिएका छन् । निर्वाचन सुरक्षामा परिवर्तन गरेका छैनौं । कुनै परिवर्तन भएको छैन । पहिलो घेरमा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरमा सेना रहन्छ, भण्डारीले भने ।
दुर्गमका मत पेटिका ढुवानी गर्न भने सेनाका साधन प्रयोग गरिने उनले बताएका छन् । केही जिल्लाका निर्वाचन केन्द्रबाट मत पेटिका ढुवानी गर्न सेनाको हेलिकप्टर प्रयोग गरिने भण्डारीले जानकारी दिए ।