२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उच्च हिमाली क्षेत्र : ' यी पाँच पदमार्गमा पदयात्रा नगर्नु'

बुधवार , माघ १४, २०८२

 

मुक्तिनाथ (मुस्ताङ), माघ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।

गए रातिदेखि भारी हिमपात भएपछि मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–ङोल्पा जोड्ने याकखर्क, म्याग्दी मुस्ताङ जोड्ने धौलागिरि पदमार्गको धम्पुस पिकको पदयात्रामा रोक लगाएको हो ।

जिल्ला प्रशासनले हिमापातमा जोखिम मानेका पदमार्गमा याकखर्क पाँच हजार ८ सय मिटर, थोरङ्लापास, पाँच हजार ४ सय मिटर, सरिबुङ पास ६ हजार मिटर र धम्पुस पिक समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा रहेको छ ।

मुस्ताङको उच्च हिमाली क्षेत्र, र मुस्ताङम्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायत क्षेत्रहरूमा हिमपात भएको छ । तीनवटै जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने पदमार्गमा भारी हिमपातका कारण पदयात्रा अत्यन्त जोखिम भएकाले सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए ।

प्रजिअ शर्माले भने, पदमार्ग क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ, पर्यटक समस्यामा परे पनि उद्धारमा निकै कठिनाइ हुन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने पदमार्गमध्ये थोराङ्ला पासमा माघ महिनामा पर्यटक पदयात्रामा निस्किने गरेको शर्माको भनाइ छ ।

उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका ४, दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार फु उपत्यका जोड्ने सरिबुङ पास सबैभन्दा जोखिम मानिन्छ । जिल्ला प्रशासन कार्यालयले जोखिम पदमार्गमा गएको कात्तिक यता मुस्ताङको सुरक्षा निकायले फसेका स्वदेशी तथा विदेशी पर्यटकलाई पैदल तथा हवाईबाट पर्यटकलाई उद्धार समेत गरेको थियो ।

दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा करिब दुई महिनालाई पुग्ने खाद्यान्नसहित आवश्यक सामग्री सञ्चित समेत गरिएकाले छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनालाई मध्यनजर गरी मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न अनुरोध गरिएको छ । बर्षासहितको हिमपातका कारणले दैनिक जनजीवन प्रभावित भएको छ । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार