२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महोत्तरीमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टकर

आइतवार , पौष ६, २०८२

काठमाडौँ, पुस |  पुस सुरु भएसँगै महोत्तरीमा बढ्दै गएको जाडोले जनजीवन नराम्ररी प्रभावित बनेको छ। विशेषगरी जिल्लाको दक्षिणी भेगमा बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र चिसो सिरेटोले गरिब तथा पिछडिएका बस्तीको बिजोग बनाएको छ।

मटिहानीका इसराफूल राइनले गत बुधबारदेखि नै बाक्लो हुस्सु लागेकाले काममा निस्कन नसकिएको र जीवन गुजारामै सकस भएको बताए। जिल्लाको उत्तरी क्षेत्र बर्दिवास र गौशालामा पनि शुक्रबारदेखि जाडो ह्वात्तै बढेको छ। गौशालाका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहाले बिहीबारसम्म मौसम राम्रो भए पनि शुक्रबारदेखि डम्म हुस्सु लाग्दा जाडो खप्नै नसकिने भएको बताए।

विपन्न बस्तीमा 'घुर' को सहारा जाडोको सबैभन्दा ठुलो मार मुसहर, डोम र हलखोर जस्ता अति विपन्न समुदायमा परेको छ। दाउराको अभावमा सडकमा फालिएका पुराना लुगा र प्लास्टिक बालेर ‘घुर’ ताप्नु उनीहरूको बाध्यता बनेको छ। भङ्गाहाकी हेमनी सदा मुसहरले कसैले फर्केर नहेर्दा धुवाँ तापेरै जाडो काट्नुपरेको बताइन्। ज्यालादारी गर्ने श्रमिकहरू काममा जान नपाएपछि गरिब बस्तीमा भोकमरीको जोखिम समेत बढेको छ।

यातायात र व्यापार ठप्प बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थलबाट हुने हवाई उडान र सडक यातायात समेत प्रभावित भएका छन्। विमान अवतरणमा समस्या भएपछि बिहानी सेवाहरू रोकिने गरेको विमानस्थल कार्यालयले जनाएको छ। चिसोका कारण बजारको चहलपहल घटेको र खेतीपातीका काम पनि ठप्प भएको स्थानीय व्यापारी अजय साहले बताए।

स्वास्थ्य सतर्कताको आह्वान स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चिसोबाट बच्न तातो झोलिलो खानेकुरा खान र न्यानोमा बस्न आग्रह गरेका छन्। उनले प्लास्टिक र झ्यास बालेर आगो नताप्न सुझाव दिँदै त्यसको धुवाँले श्वासप्रश्वासको समस्या निम्त्याउने चेतावनी दिए। जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्णले चिसोबाट हुन सक्ने क्षति कम गर्न १५ वटै स्थानीय तह र विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी थाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार