भक्तपुर, मंसिर । नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहल पहल बढेको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले बताएका छन ।
एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेनजी पुस्तासमेतलाई उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ।
जिल्ला कमिटीका अध्यक्ष देउजाले महाधिवेशनलाई देश निर्माणको साझा अभियानका रूपमा सबैले साथ दिने विश्वास व्यक्त गरेका छन ।
देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ।
विशेषगरी पूर्वतर्फ जगातिदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटनसत्र सकिनुअघि अत्यावश्यक बाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।
शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइ दिन पनि जिल्लाको अपिलमा उल्लेख छ। महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेहरुको लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ।
अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभुसा र सम्पदालाई झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवर्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा एमालेले गरेको छ ।