काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको तथा बैठकले सो निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार कांग्रेसको १५ औं महाधिवेशन आगामी पुस २६, २७ र २८ गते गर्ने निर्णय सर्वसम्मत अनुमोदन भएको छ । उनले भने, ' केही समय अगाडिदेखि सञ्चालित नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भयो ।
मूलतः आजको केन्द्रीय समितिको बैठकले लामो छलफलपछि नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने गरी देहाय बमोजिमको कार्यतालिका निर्णयार्थ केन्द्रीय समितिमा पेस भयो ।
सर्वसम्मतबाट अनुमति भएको छ । सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाइने उनले जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि मङ्सिर २४ गते र पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने निर्णय भएको जानकारी दिए ।
क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति तथा कार्यबहाक सभापतिलाई पुस १४ गते बुझाउने निर्णय भएको छ ।
प्रदेश अधिवेशन पुस २३ र २४ गते उनका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, नयाँ तथा अन्य पार्टीहरुबाट आएकालाई समेत क्रियाशील सदस्यता दिने निर्णय पनि भएको छ ।
पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते गाउँ, नगर र वडा अधिवेशन, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते, प्रदेश अधिवेशन सात प्रदेशको पुस २३ र २४ गते गर्ने गरी कार्यतालिका तय भएको उनले जानकारी दिए ।
प्रवक्ता डा. महतले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउन रहेको व्यवस्थापन समितिले विदेश र विभिन्न जिल्लाबाट आएका सदस्यताको सूची छानबिन गर्ने बताए । उनले भने, ' जति पनि क्रियाशील सदस्य जिल्लाहरुबाट, विदेशबाट आउँछ, त्यो क्रियाशील सदस्यताको सूची छानबिन समिति अर्को हुन्छ ।
कुनै निवेदन, उजुर आएमा त्यस उपर छानबिन गर्ने । त्यो छानबिन समितिमा केन्द्रीय सभापतिमार्फत त्यो छानबिन समितिमा जान्छ र त्यसले त्यो काम पनि समयमै टुङ्गो लगाउने काम गर्छ ।
उनले कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति तथा कार्यबहाक सभापतिको परामर्श गरी विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने काम टुङ्गोमा पुर्याइने जानकारी दिए ।
उनले भने, ' यी समितिहरुको गठन कार्यबहाक सभापति तथा कार्यबहाक सभापतिले परामर्श गरी टुङ्ग्याउनुहुन्छ । पार्टीको यो म्याद यही मङ्सिर २३ गतेसम्म कायम रहेको अवस्थामा यसको म्यादलाई हामीले माघ अन्त्यसम्म एक्सटेन्ड गर्ने, त्यसलाई थप्ने निर्णय पनि केन्द्रीय समितिले गरेको छ ।
किनभने मङ्सिरमै हाम्रो कार्यअवधि सकिने हुनाले र पुसमा हामी अधिवेशन गर्दैछौं । जेनजी आन्दोलनको विकसित परिस्थितीमा गत असोज २८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आज सम्पन्न भएको हो ।