काठमाडौँ, मङ्सिर । जेहर्राड इरसमस र जोहन सिम्पसनको सानदार ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।
इरसमस र सिम्पसनले ४५ बलमा ८६ रनको साझेदारी गरेपछि काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ५० रनको लक्ष्य १२ बल अगाडि १ सय ५५ रन बनाउँदै पुरा गरेको थियो ।
काठमान्डुलाई जितका लागि १ रन आवश्यक भएको समय सिम्पसन आउट भएका थिए । नन्दन यादवले अर्को बलमा त्यसपछि आएका रशिद खानलाई आउट गरेका थिए । २ बलपछि भीम सार्कीले छक्का प्रहार गर्दै विजयी रन बटुले ।
सिम्पसनले २१ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ४१ रन बनाए । प्लेयर अफ द म्याच इरसमसले ३३ बलमा अविजित ४३ रन बनाए । यूएईको आइएल टी २० खेल्न दुबई जान लागेका नामिबियाका कप्तान इरसमसले समान २ चौका र छक्का प्रहार गरे ।
आकाश त्रिपाठी ११ बलमा ८ रनमै आउट भए पनि काठमान्डुले पावर प्लेको पहिलो ६ ओभरमा ४६ रन जोडेको थियो । त्यसमा बेन चार्ल्सवर्थले कर्णालीका कप्तान सोमपाल कामीको एकै ओभरमा ३ छक्कासहित २० रन प्रहार गरेका थिए ।
चार्ल्सवर्थले २१ बल खेली २ चौका र ३ छक्कासहित ३४ रन बनाए । मिलिन्द कुमार १५ रनमा रनआउट भएपछि गम्भीर संकटमा परेको समयमा इरसमस र सिम्पसनले खुलेर खेलेका थिए ।
कर्णालीका नन्दनले ४ ओभरमा ३५ रन खर्चेर ३ र पवन सर्राफले १ विकेट लिए । काठमान्डुको यो लगातार तेस्रो जित हो । ६ खेलमा चौथो जित हात पारेपछि काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ । काठमान्डुले विराटनगरलाई नेट रन रेटमा उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । कर्णालीले ५ खेलमा चौथो पराजय भोगेको हो ।
यसअघि गुलशन झाको आक्रामक इनिङ्सपछि टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४९ रन बनाएको थियो । कर्णालीले निकै दयनीय सुरुआत गरेको थियो । कप्तान करण केसीले खेलको पहिलो बलमै प्रियांक पाञ्चाललाई कट एन्ड बोल्ड गरेका थिए ।
सोही ओभरको अन्तिम बलमा विलियम बोसिस्टो १ रनमा रनआउट भए । मार्क वाट र पवनले तेस्रो विकेटमा ५९ रनको साझेदारी गरी कर्णालीको स्थिति सुधारेका थिए । वाट पनि ३० रनमा रनआउट भए । उनले २७ बल खेली १ चौका र २ छक्का प्रहार गरे । पवनलाई ३५ रनमा सन्तोष यादवले एलबीडब्लु आउट गरे ।
पवनले २९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । नाजिबुल्लाह जाद्रानले १४ बलमा १२ रनमात्र बनाउन सके । सोमपाल पनि ६ रनमै आउट भए । गुलशनले दीपक डुम्रेसँग २८ बलमा ५५ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
दीपकले १२ बलमा १० रन बनाए । गुलशन ४९ रनमा अविजित रहे । उनले २२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । काठमान्डुबाट रशिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
करण, मिलिन्द र सन्तोषले १- १ विकेट लिए । करणले ४ ओभरमा २६, मिलिन्दले ४ ओभरमा २४ र सन्तोषले ३ ओभरमा २२ रन खर्चे ।