२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल : पोखराको पहिलो जित, जनकपुरलाई हरायो

बिहिवार , मंसिर ११, २०८२

 

काठमाडौँ, मङ्सिर । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो ।

तेस्रो खेलमा आएर पहिलो जित निकालेको पोखराले दुई अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको जनकपुरले अङ्क तालिकामा खाता खोल्न सकेको छैन । जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।

जनकपुरका लागि वेन पार्नेलले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उनले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । यस्तै सन्जय कृष्णमूर्तिले २५ र ओपनर माज सदाकतले २० रन बनाए । जनकपुरलाई स्तब्ध बनाउन बलिङमा पोखराका विपिन खत्रीले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभरमा १५ रन खर्चिए ।

यस्तै सुमीत वर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निसमले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।

पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाए । उनले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाएका छन । अलराउन्ड प्रदर्शन गर्नुभएका सुमीत प्लेयर अफ दि म्याच बने । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाए । बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिए ।

अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिए । एनपिएल अन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार