२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपीएल लिग : पोखरा एभेन्जर्ससँग सुदूरपश्चिम बिजयी

सुदूरपश्चिमको लगातार दोस्रो जित

शुक्रवार , मंसिर ५, २०८२

 

काठमाडौँ, मङ्सिर । ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ ।

रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्यो । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १९३ रन बनाएको थियो ।

भुर्तेलले अर्धशतक बनाए पनि जबाफमा आएको पोखराले ८ विकेट गुमाई १७५ रन मात्र बनाउन सक्यो । रोयल्सको यो लगातार दोस्रो जित हो । रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । गत वर्षको लिग यी दुईबीचको खेलमा सुदूरपश्चिम ५ रनले विजयी भएको थियो । भुर्तेलले ३२ बल खेली समान ४ चौका र छक्कासहित ५३ रन बनाए ।

स्कट कुग्लेनको बलमा क्रस गरेर खेल्न खोज्दा उनले लेग स्टम्प गुमाएका थिए । पोखराले पावर प्लेको ६ ओभरमा २५ रन मात्र जोड्न सकी ३ विकेट गुमाए पनि भुर्तेल र जिम्मी निसमले चौथो विकेटका लागि ४३ बलमा ७५ रन जोडेका थिए । गत सिजन जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका निसमले २५ बल खेली २ चौका र ५ छक्कासहित ४७ रन बनाए ।

उनलाई रोयल्सका कप्तान दीपेन्द्रले लो बलमा बोल्ड गरे । सुमित बर्मा ६, अभिषेक तिवारी १३ बलमा ३ रन बनाई आउट भए । पोखराको सुरुआत राम्रो थिएन । पहिलो ओभरमै एडम रोसिङटन रनआउट भए ।

उनका ओपनिङ जोडि दीनेश खरेलले पनि ६ रन मात्र बनाउन सके । किरण ठगुन्ना पनि ९ रनमै आउट भए । तल्लो क्रममा ड्यान डाउथवेटले १६ बल खेली १ चौका र ५ छक्काका साथ ३७ रन बनाए ।

विपिन खत्री ७ रनमा अविजित रहे । रोयल्सका हरमित सिंहले ४ ओभरमा २२ रन खर्चेर २ तथा कुग्लेन, दीपेन्द्र, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १ विकेट लिए ।

यसअघि ब्राउन र विनोदले पहिलो १० ओभरमै विना क्षति ९९ रन जोडेर सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ११ औँ ओभरमा निसमले ब्राउनलाई आउट गरी यो साझेदारी तोडेका थिए, जति खेर सुदूरपश्चिमको स्कोर १ सय ८ रन थियो । ब्राउनले ३५ बल खेली ६ चौका र ५ छक्कासहित ६८ रन बनाए । विनोदले ४२ बल खेली ६ चौकासहित ४३ रन बनाए ।

ब्राउन र विनोदको बीचमा क्रिस लिन १३ बलमा ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १३ रन बनाई आउट भएका थिए । लिनले ४ चौका र २ छक्का तथा दीपेन्द्रले समान १ चौका र १ छक्का प्रहार गरे ।

काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका हरमित सिंह ६ बलमा ४ रन, स्कट कुग्लेन ८ र आरिफ शून्यमा आउट भए । पोखरा निसमले ४ ओभरमा ४७ रन खर्चेर ३ तथा डाउथवेटले ४ ओभरमा २४, आकाश चन्दले ४ ओभरमा ४३ रन खर्चेर २-२ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार