२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एनपिएल : सुदूरपश्चिमको काठमान्डुमाथि जित

बुधवार , मंसिर ३, २०८२

 

काठमाडौँ, मङ्सिर । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।

जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो । दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदुरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ ।

दुई खेलमा पहिलो हार खेपेको काठमान्डुको पनि दुई अङ्क छ । यसअघि उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।

काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाए । जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।

काठमान्डुलाई निरास बनाउन बलिङमा सुदूरपश्चिमका हेमन्त धामी, हर्मित सिंह र स्कट कग्जेजिनले दुई दुई तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक एक विकेट लिए । अलरान्ड प्रदर्शन गरेका हर्मित प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।

पावरप्ले मै चार विकेट गुमाएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गरेका थिए । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेले ।

उनले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाएका हुन ।  कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए । उनले तीस बलमा तीन चौका र एक छक्का हाने । यस्तै आरिफ शेखले २५ र इसान पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा काठमान्डुका कप्तान करण केसीले चार विकेट लिए । उनले चार ओभरका ३० रन खर्चिएर चार विकेट लिएका हुन। मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिए । ।एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच साँझ ४ः ०० बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार