२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मोन्था चक्रवातको प्रभाव देशभर

बढी वर्षा मोरङको सुन्दर हरैंचामा : '२१० मिलिमिटर वर्षा '

शुक्रवार , कार्तिक १४, २०८२

 

काठमाडौँ,  कात्तिक ।  मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ ।

अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।

यद्यपि बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ । उनका अनुसार यो भारी वर्षा हो । दुई सय मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ । सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ ।

झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ । दुई दर्जन बढी वर्षा मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ ।  ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ ।

बङ्गालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले आज साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए । त्यसपछि भने सुधार हुँदै जानेछ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ ।

हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार