काठमाडौं, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा आज चार घण्टाभन्दा बढी समय छलफल गरेको छ। बिहान साढे १० बजे सुरु भएको छलफल सकिएको छ।
घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारी विरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन्।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने माग राखेको छ ।
घाइतेहरूका तर्फबाट खड्काले भने, ' जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ।'
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए । तपाई चुनाव मात्र भनिरहनुभएको छ। के २०८४ को चुनाव २०८२ मा सार्न मात्र यो सरकार आएको हो ? घाइते प्रतिनिधिहरूको जिज्ञासा थियो ।
प्रधानमन्त्री कार्कीले सो अवसरमा भनिन्, ' हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ हामीलाई दिइएको म्यान्डेट अनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यको स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेकाले नआत्तिन प्रधानमन्त्रीले जेनजी नेतृत्वसँग आग्रह गरे । तपाईहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले के के बोलिरहेका छन्, सुन्नुभएकै होला” उनले भने । घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि नेपालमै छु भनेर देखा पर्न थालेको बताए ।