२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आइसिसी टी- २० विश्वकप छनोट

अपराजित नेपाल : ओमानलाई हराएर उपाधि नजिक

बिहिवार , आश्विन ३०, २०८२

 

काठमाडौँ, असोज । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक उभिएको छ ।

विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत लिग चरणदेखि अपराजित रहेको नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधि सम्भावना बलियो बनेको छ ।

नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमानको ६ अङ्क छ । नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँर्दै छनोटको उपाधि चुम्नेछ । ओमान पनि नेपालसँगै दुई खेल अगावै विश्वकपमा पुगिसकेको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी नेपालले बुधबार ओमानमाथि सहज जित निकालेको थियो । जितका लागि नेपालले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १३ रनमा समेटिएको थियो ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । यस्तै मोहम्मद नदीमले २५, कप्तान जतिन्दर सिंहले १४ र आर्यन विष्टले ११ रन बनाए ।

बलिङमा नेपालका गुल्शन झाले तीन विकेट लिए । यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा सन्दीप लामिछानेले एक विकेट झरे। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६९ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५१ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन । कुशल भुर्तेलको यो जारी छनोट खेलमा दोस्रो अर्धसतक हो ।

यसअघि उनले समूह चरणको खेलमा कुवेतविरुद्ध ६६ रन बनाएका थिए । ओमानविरुद्ध अलराउन्ड प्रदर्शन गर्नुभएका कुशल प्लेयर अफ द म्याच बने। यस्तै आशिफ शेखले २४, गुल्सन झाले १८ र मोहम्मद आदिल आलमले १६ रन बनाए । बलिङमा नेपालका नदीम खानले चार विकेट लिए ।

सुफ्यान मेहमुद र जितेन रमानन्दीले दुई दुई विकेट लिए । ओमानलाई हराएपछि नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा भएको बताए । हामीले यसपटक राम्रो प्रदर्शन गरेका छौँ । सबै खेलाडीले मिहेनत गर्यौँ ।

प्रशिक्षक देखि अफिसियलसम्म सबैको भूमिका महत्वपूर्ण छ । आफ्नो कप्तानीमा दुई पटक नेपाललाई विश्वकपमा पुर्याउन पाउँदाको क्षणलाई शब्दमा बयान गर्न सक्दिन । यो खुसी सारा नेपालीसँग बाँड्न चाहन्छु, रोहितले भने । उनले अब सबै खेलाडीको ध्यान अपराजित रहँदै छनोटको ट्रफी चुम्नु रहेको बताए ।

रोहितको कप्तानीमा लागातार दोस्रो पटक विश्वकपमा छनोट भएको नेपाल समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । लगातार दोस्रो पटक विश्वकपमा पुगेको एसोसिएट देश नेपालले आफुभन्दा निकै ठूला हस्ती देशसँग खेल्न मौका पाउने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार