२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टी- २० विश्वकप छनोट

सन्दीप चम्किए : ' कतारमाथि नेपालको रोमाञ्चक जित '

मंगलवार , आश्विन २८, २०८२

 

काठमाडौँ, असोज । सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी- २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो ।

जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा सवै विकेट गुमाएर एक सय ४२ रनमा समेटिएको थियो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्याच चल्न सकेनन् । कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ३.५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिए । यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या दुई सय ५४ पुगेको छ। सन्दीप प्लेयर अफ द म्याच बने । यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले आठ बलमा १६ रन बनाए । अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन । बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले तीन तीन विकेट लिए । मुहम्मद असिमले एक विकेट झारे । नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो ।

जितसँगै सुपर सिक्समा ६ अङ्क बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ । ओमानको पनि समान ६ अङ्क छ । नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ ।

ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ । त्यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी- २० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार