वराहक्षेत्र, असोज । सप्तकोशी नदीमा आएको बाढी आइतबार साँझदेखि घट्दै गएपछि नदी आफ्नै लयमा फर्कन थालेको छ ।
आइतबार दिउँसो ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५७ वर्षयताकै तेस्रो बाढीको उच्च मापन गरेको थियो । सोमबार रातिदेखि नै नदीमा पानीको बहाब कम हुँदै आएको कन्ट्रोल रुमले जनाएको छ ।
पहाडी क्षेत्रमा वर्षा कम हुन थालेपछि पानीको बहाब क्रमश : घट्दै गएको हो । सोमबार दिउँसो ३ बजेको मापन अनुसार नदीमा पानीको बहाब दुई लाख ४८ हजार ३२५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो ।
सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक भएपछि आइतबार कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो । कोशीले पूर्वी तटबन्धका कुनै पनि स्थानमा क्षति नपु(याएको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताए ।