२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जलेश्वर कारागार : ' भागेका ५७६ मध्ये २३३ कैदीबन्दी फर्किए '

आइतवार , आश्विन ५, २०८२

 

जलेश्वर (महोत्तरी), असोज । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ जना फर्किएका छन् ।

कारागारबाट भागेका ५७६ कैदीबन्दीमध्ये ३४३ जना अझै फर्किएका छैनन् । सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार आज बिहानसम्म २३३ जना कैदीबन्दी फर्केर आएका छन् । कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म २३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए ।

जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उनको भनाइ छ ।

बाँकी कैदीबन्दी आफैँ कारागारमा फर्किएका हुन् । जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ५०० को सङ्ख्यामा आएका प्रदर्शनकारीले आफूलाई जेनजी भन्दै कारागार कार्यालयका तीन तहका ढोका फुटाएर सबै कैदीबन्दीलाई भगाएका जेलर क्षेत्रीले जानकारी दिए ।

जेनजीको प्रदर्शनको आडमा जलेश्वर कारागारबाट भागेका र अझै पनि नआएका ३४३ कैदीबन्दीलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मी परिचालन गरी खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकार दिए । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार