ललितपुर, भदौ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरुहुँदैछ । महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको छ । यो दोस्रो विधान अधिवेशन हो ।
दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन् ।
बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन् ।सातदोबाटोदेखि गोदावरीसम्म आवत जावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ । सूर्य चिह्न अङ्कित झन्डाले सडक झकिझकाउ बनाएको छ ।
नेकपा (एमाले) अहिले निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ ।
सभा हलको सिट सङ्ख्या दुई हजार ८४० रहेको छ । परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन । उद्घाटनको काम १२ मिनेटभित्र सकिने छ । अध्यक्षले उद्घाटन गरेलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलद्वारा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
२१ गते सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा चार, हल प्रवेश छेउमा दुई, हलभित्र दुई र बाहिर क्याटरिङ स्थलमा दुई वटा समूह छलफलका लागि व्यवस्था मिलाइएको उल्लेख गरे ।
कार्यतालिका स्वीकृत
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दोस्रो विधान महाधिवेशन कार्यतालिका स्वीकृत गरेको छ ।
एमाले मुख्यालय च्यासलमा बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले शुव्बारदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको हो ।