काठमाडौँ, भदौ । राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
आजै दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूची अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यक्रम छ । बैठक विहान ११ः३० बजे बस्ने जनाइएको छ ।