२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पूर्वराजाका नातिको जुम्ला भ्रमण

चर्चा चलेको भिडिओ : " आमरुपमा गरिएको आशङ्का कस्ताे ? "

शनिवार , श्रावण १७, २०८२

 

नेपाली पूर्वराजपरिवारका एक जना सदस्यले कर्णालीको जुम्ला घुमेर बनाएका भिडिओ सामग्री, 'भ्लग; ले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ठूलो चर्चा र बहस निम्त्याइरहेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको भ्रमणबारेको उक्त भिडिओमा उनको प्रस्तुति 'सरल र विनम्र'  देखिएको भन्दै कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले उक्त भिडिओ 'राजनीतिक उद्देश्य' ले ल्याइएको हुनसक्ने आशङ्का पनि गरेका छन्।

यसअघि सार्वजनिक रूपमा विरलै देखिने गरेका अनि अमेरिकामा स्नातक अध्ययनरत हृदयेन्द्रको 'व्यक्तित्व' यो भिडिओमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका कारण पनि यो चर्चाको विषय बनेको एक जना विश्लेषकले बताएका छन्।

गत चैतमा राजसंस्था पक्षधर शक्तिले गरेको प्रदर्शन र त्यसअघि प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दिएको सन्देशका कारण पछिल्लो समय पूर्व राजपरिवार नेपालमा राजनीतिक चासो र बहसको केन्द्रमा छ।

राजसंस्था ब्यूँताउन माग गर्दै गरिएका प्रदर्शन सेलाउँदै गएको देखिएको समयमा राजसंस्थाको पैरवी गरिरहेका मध्ये केहीले  'भावी राजा' भनेर समेत चर्चा गर्ने गरेका हृदयेन्द्रको भ्लगबारे विभिन्न आशङ्का पनि सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन्।

राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका कैयौँ नेताहरूले हृदयेन्द्रको उक्त भ्लग सामाजिक सञ्जालमा शेअर गरेका छन्। जुम्लाको एउटा निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय चुनाव जितेको ठाउँ पनि हो।

 

भिडिओमा के छ

12.webp

undefined

उनको नाममा खोलिएको एउटा फेसबुक पेज र साझा कथा नामको युट्युब च्यानलमा राखिएको भिडिओ १५ मिनेटको छ। आरम्भमा उनी तिला खोलामा एउटा ढुङ्गामाथि बसेर आफ्नो भ्रमणबारे बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गर्छन्। '

आज म कर्णालीको जुम्ला आएको छु। नेपालमा अन्वेषण गरिनुपर्ने धेरै ठाउँमध्ये यो पनि एक हो,' उनले भनेका छन्। भिडिओको अन्त्यतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक जना विद्यार्थीले हृदयेन्द्रलाई सोधेको प्रश्न र त्यसमा उनले दिएको जबाफबारे धेरैले सामाजिक सञ्जालमा चर्चा गरेका छन्। '

हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होलारुू भन्ने पञ्चकली बुढाको प्रश्नमा हृदयेन्द्र भन्छन्, 'मान्छेहरूले राम्रो काम गरे भने सबै कुरा राम्रोसँग चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नु पर्यो अलिकति आँट गर्नुपर्यो।'

आमा तथा पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको हिमानी ट्रस्टले जुम्लामा बनाउन लागेको सुत्केरी स्याहार केन्द्रको शिलान्यासका लागि पुगेका बेला हृदयेन्द्रको उक्त भिडिओ बनाइएको उत्पादक साझा कथा टोलीले बताएको छ।

 

भ्लगको पक्ष र विपक्षमा टिप्पणी

13.webp
undefined

हृदयेन्द्रको भ्रमणबारे बनाइएको भ्लगको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी चलिरहँदा जुम्लाकै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनीता कठायतले उक्त भिडिओ केही राजनीतिक दलहरूका लागि चिन्ताको विषय हुनसक्ने टिप्पणी गरेकी छन्।

' नाति पुस्तासँग सदनमा डराएकाहरू जुम्लाको प्रवर्द्धनका लागि पनाति पुस्ताले बनाएको एउटा भ्लगसँग पक्कै डराउने छन्,' उनले एक्समा पोस्ट गरेकी छिन्।

नेकपा माओवादी केन्द्रकी जुम्लाकी सांसद छिरिङ ल्हामु लामाले भने जुम्ला विकट हुनुमा राजतन्त्रको दोष रहेको भन्दै हृदयेन्द्रको भ्लगले भन्दा अन्य कन्टेन्ट बनाउनेहरूले उक्त क्षेत्रलाई धेरै चिनाएको टिप्पणी गरेकी छन्। 'गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ,' उनले फेसबुकमा लेखेकी छन्।

नेपालले गणतन्त्र अपनाएको दुई दशक पुग्न लागे पनि राजतन्त्रको विरासतका कारण यसबारे चासो हुनु स्वाभाविक हुने देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे बताउँछन्।

'केही राजनीतिक चस्माहरू छन् र केही राजतन्त्रात्मक चस्माहरू पनि छन्। तर सामान्य रूपमा हेर्दा त्यो भ्लग धेरैले मन पराएको देखिन्छ,' घिमिरे भन्छन्। सामाजिक सञ्जालका विषयमा कलम चलाउँदै आएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक वाईपी आचार्य हृदयेन्द्रको भ्लगको चर्चाका पछाडि उनको ऐतिहासिक विरासत कारण हुन सक्ने बताउँछन्।

'उनलाई आम मानिसहरूले सामान्य नागरिकभन्दा अलि फरक तरिकाले हेर्छन्। समाजले त्यही आधारमा महत्त्व दिन्छ। त्यही कारण सामाजिक सञ्जालमा सक्रिय हुने हाम्रो समाजका मानिसहरूले उनलाई महत्त्व दिएजस्तो देखिन्छ,' उनी भन्छन्।

हृदयेन्द्रको जुम्ला भ्रमणको अर्थ

14.webp
undefined

हृदयेन्द्रको भिडिओबारे भइरहेका राजनीतिक आकलनबारे सम्पादक घिमिरे पारिवारिक विरासतका कारण त्यसलाई राजनीतिक रूपमा जोडिने कुरा अस्वाभाविक नभएको बताउँछन्। 'राजनीतिलाई दलीय घेराभन्दा माथि राखेर हेर्ने हो भने पक्कै पनि त्यसलाई राजनीति भन्न सकिन्छ,' उनी भन्छन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य हृदयेन्द्रको भिडिओ 'राजनीतिक परीक्षण पनि भएको हुनसक्ने' बताउँछन्। तर आम मान्छेले त्यो नबुझी उनलाई मन पराएर मात्रै चर्चा गरेको हुनसक्ने उनको बुझाई छ। '

सामाजिक सञ्जालमा आउने सूचनाहरू जनताको प्रतिनिधित्वत्व हुने गरी आएका हुँदैनन्। ' यसको अल्गोरिदमले सबैभन्दा धेरै अन्तरक्रिया हुने विषय वा सामग्री धेरै मानिसहरूमा पुर्याइदिन्छ,' उनी भन्छन्।

देश सञ्चारका सम्पादक घिमिरे भन्छन्, ' उनका जिज्युबुवा महेन्द्रले पनि राजपरिवारका सदस्यलाई नचिनिने गरी रीति- थिति, समाज बुझ्न नेपाल घुम्न पठाउँथे।  हृदयेन्द्रलाई पनि त्यही दीक्षा परिवारले दिएको हुनसक्छ।'

15.webp
undefined

आफ्ना बुवाको अभ्यासबारे जानकार पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वीकृतिमै हृदयेन्द्रलाई जुम्ला पठाएको हुनसक्ने घिमिरे बताउँछन्। 'उनका हजुरबुवाको चाहनाबिना, उनकी आमाको स्वीकृतिबिना यो भ्रमण पक्कै भएको होइन होला। तर उनीहरूले दुर्गम क्षेत्र रोजे त्यसले उनले प्रशंसा पाइरहेका छन्,' घिमिरे भन्छन्।

सामाजिक सञ्जालमा देखिएको उनको चर्चालाई राजतन्त्र पक्षधर शक्तिहरूले राजनीतिक प्रयोगमा ल्याउने प्रयास गर्न सक्ने उपप्राध्यापक आचार्य बताउँछन्। ' यही जगमा अब उनलाई राजनीतिमा तानेर यसरी बनेको परिस्थितिमा केही राजनीतिज्ञहरूले आफ्नो राजनीतिक फाइदा लिन खोजेको देखिन्छ,' आचार्य भन्छन्।

राजनीतिक रूपमा धेरै चासो नराखे पनि अहिलेको परिस्थितिप्रति सन्तुष्टि नभएका मानिसहरूले हृदयेन्द्रको सरलतालाई सामाजिक सञ्जालमा रुचाएको देखिएको उनले बताए।

' आम मान्छेले कर्णालीको भिडिओ यो भन्दा राम्रो पनि गरेका होलान् नि त तर त्यसमा धेरै मानिसहरूलाई चासो हुँदैन। उहाँ राजपरिवारको मान्छे भएका कारण चर्चाको विषय बन्यो,' आचार्य भन्छन्। 'राजपरिवारको सदस्य भए पनि उनको व्यवहार सामान्य मान्छे जस्तो रहेछ भनेर पनि त्यसको प्रचार भएको छ। ' बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार