२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ल्हेन्दे खोलामा बाढी : ' हिमताल विस्फोटबाट आएको निष्कर्ष '

बिहिवार , आषाढ २६, २०८२

 

काठमाडौँ, असार । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल - चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

रसुवागढीस्थित नेपाल- चीन सीमाबाट करीब ३६ किलोमिटर माथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ ।

हिम नदीको करिब करिब ०. ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ । उनले भने, उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिकोे तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ ।

अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ । पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ ।

साथै आगामी दिनमा भू- उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाई छ ।

बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ, उनले भने ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन- नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार