काठमाडौँ, असार । वन तथा वातावरण मन्त्रालयले कार्बन उत्सर्जन शून्यमा पुर्याउनेलगायत उद्देश्यका साथ ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी ‘अबको अभियानः हरियाली बढाऔँ, हिमालय जोगाऔँ’ नाराका साथ २० वर्षे उक्त महाअभियान घोषणा गरेको हो ।
मन्त्रालयले सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियानअन्तर्गत हरेक वर्ष करिव तीन करोड विरुवा रोपण गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले बताए ।
हालै सम्पन्न सगरमाथा संवादको मुल मर्म र भावना अनुरूप नेपालबाट नै हिमालय जोगाउने प्रयासका रूपमा समेत वृक्षरोपण अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सरकारबाट यही असार ८ गते उक्त निर्णय गरिएको उनले जानकारी दिए ।
मन्त्री शाहीले भने, “नेपालले, सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको र साथै सगरमाथा संवादले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्व जगतलाइ ध्यानाकर्षण गर्दै हिमाल जोगाउन गरेको आह्वानअनुसार यो महाअभियान सञ्चालन गर्न लागिएको हो ।
यस अभियानले वनबाट समृद्धी, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा नेपाल सरकारले भर्खरै नेपाल सवारी साधन प्रदुषण मापदन्ड, २०८२ समेत जारी गरेको छ ।
महाअभियानबाट कार्बन उत्सर्जन न्यूनीकरण र अनुकुलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावी पुस्ताका लागि सुरक्षित हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्य राखिएको छ ।
महाअभियानमा सङ्घीय स्तरका मन्त्रालयरनिकाय, प्रदेश सरकार र अन्तरगतका निकाय, स्थानीय तह, सबै प्रकारका वन समूह तथा सञ्जाल, नागरिक समाज, निजी क्षेत्र शैक्षिक संस्था, सञ्चारमाध्यमलगायत सहभागी हुने उनले बताए । नागरिकले आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि र हामो शान हिमालय जोगाउने सङ्कल्पमा वृक्षरोपण गर्न सक्ने उनले बताए ।
यो महाअभियान एकदिने कार्यक्रम मात्र नभई एक महिनासम्म सञ्चालन हुने वृक्षरोपण अभियान भएको र यसको अभियानको विशेषता अनुकुल समयमा गर्न सकिने, बहुउद्देशीय प्रजाती वृक्षारोपण, वृक्षरोपणसँगै संरक्षणलाई प्राथमिकता, राष्ट्रिय पर्वका रूपमा वृक्षरोपणलाई संस्थागत गर्ने प्रयास रहेको मन्त्री शाहीले उल्लेख गरे ।
यस महाअभियानलाई अभियानको रूपमा सफल बनाउन नागरिक हरूलाई व्यक्तिगत, साँस्कृतिक, पारिवारिक र वातावरणीय प्रेरणासहित वृक्षरोपण र संरक्षणमा सहभागी हुन अनुरोध गरिएको छ,” उनले भने ।
महाअभियान अन्तर्गत उपयुक्त भूमिमा उपयुक्त प्रजाती वृक्षारोपण गरी त्यसको संरक्षणमार्फत वातावरणीय समृद्धि र जलवायु सङ्कट समाधानमा योगदान पुर्याउने विश्वास गरिएको छ । सगरमाथाको टुप्पोबाट उठेको यो हरियाली अभियान हिमालय क्षेत्रको संरक्षण मात्र नभई सम्पूर्ण पृथ्वीका लागि सन्देश बन्ने अपेक्षा गरिएको छ ।
महाअभियान केवल वृक्षारोपण मात्र नभई यो नेपालको कार्बन न्यूनीकरण, जलवायु सहिष्णुता जैविक विविधता र समुदाय–केन्द्रित विकासलाई समाहित गर्ने समग्र राष्ट्रिय कार्यक्रम भएको मन्त्रालयका निमित्त सचिव बुद्धिसागर पौडेलले बताए । यो अभियानले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने, हिमालय जोगाउने र स्वच्छ भविश्य सुनिश्चित गर्ने लक्ष्य हासिल गर्नेछ,” उनले भने ।
नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरिएको साथै वन, जङ्गल, वन्यजन्तु, वातावरण तथा जैविक विविधताका विषयहरू सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समावेश छन् ।
यसै सन्दर्भमा, आर्थिक वर्ष २०८२- ८३ को बजेट वक्तव्यमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा फलफूल, जडिबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न नागरिक तथा समुदायलाई प्रोत्साहन गरिने उल्लेख छ । सोही विषयका आधारमा समेत यो महाअभियान सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।