२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'राष्ट्रको नेतृत्व गर्ने अभिभावकको खाँचो छ ' : कांग्रेस महामन्त्री शर्मा

सोमवार , आषाढ २, २०८२

 

झापा, असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताए ।

उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए।  यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उनले भने, “अब त्यसको हल हामी गर्छौं ।” 

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी धारणा बनाउन आवश्यक रहेको बताए ।

उनले स्व टङ्कप्रसाद भट्टराईले दान दिएको जग्गामा बन्न लागेको खानेपानीको ट्याङ्कीले मेचीनगर ९, १०, ११, १४ र वडा नं १५ का केही भागहरूमा समेत खानेपानी वितरण गर्न सहज हुने बताए ।

झापा क्षेत्र नं १ मा मात्रै करिब रु एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरू सञ्चालन भइरहेका उनको भनाइ छ ।

दुई कट्ठा १० धुर खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा भट्टराईले दान दिएपछि पाँच कट्ठा जमिनमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड ट्याङ्की र सुरक्षागार्ड बस्ने घरसहितको संरचनाको निर्माण हुन लागेको छ ।

विसंं २०८४ मङ्सिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार