२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मनसुनजन्य विपद्

स्वास्थ्यले सातै प्रदेशमा थाल्यो - ' विपद् नियन्त्रणको पूर्वतयारी '

मंगलवार , जेठ १४, २०८२

 

काठमाडौँ, जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।

वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम सम्बन्धमा छ वटा निर्णय गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग आज भएको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुलाई समस्या समयमा नै पहिचान गरेर तयारी गर्न निर्देशन दिए ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।

साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक सूचना सङ्कलनका साथै तथा तयारी अघि बढाउनेछ।

महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिम प्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकता अनुसार खटाउने छ ।

सङ्क्रामक रोग ऐन, २०२० लाई बदलिँदो परिस्थिति तथा आवश्यकता अनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार