२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नसर्ने रोगको पहिचान 

एक महिने ‘स्क्रीनिङ’अभियान : 'आज काभ्रेमा नसर्ने रोग  शिविर सञ्चालन हुँदै '

सोमवार , फाल्गुण १२, २०८१

 

काभ्रेपलाञ्चोक, फागुन । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताए ।  

उनका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिनेछ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ । 

कार्यालयका अनुसार सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गरिने छ, भने जिल्लाको १३ वटै स्थानीय तहले यससम्बन्धी छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् ।

अभियान कार्यक्रमले काभ्रेपलाञ्चोकमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अभियान एक महिना सञ्चालन हुने जनाइएको छ । 

यसैबीच मण्डनदेउपुर नगरपालिकाले मोतियाविन्दु पहिचान तथा शल्यक्रियाका लागि निःशुल्क आँखा शिविरको सुरुआत गरेको छ । 

आइतबार वडा नं १ स्थित डाँडागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु गरिएको शिविर बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेकोमा नगरको १२ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । 

शिविरमा आँखामा मोतियाविन्दुको समस्या देखिएकाको  मासुनागा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ । 

नगर स्वास्थ्य शाखाका अनुसार आइतबार सञ्चालित शिविरमा ७२ जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । 

आँखामा समस्या देखिएकाको क्रमैसँग शल्यक्रिया गर्दै जाने शाखाले जनाएको छ । 

आज वडा नं २ को बालुवापाटी स्वास्थ्य चौकी तथा बिहीबार वडा नं ५ स्थित गैह्रीबिसौना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार