यसअघि नेपालले चीनमा रहेका नेपालीलाई विशेष विमान व्यवस्था गरी ल्याएको थियो । त्यतिखेर चीनमात्र बढी प्रभावित थियो र त्यहाँ सानो सङ्ख्यामा नेपाली थिए । आज विश्वभर छरिएर रहेका नेपालीलाई त्यसरी ल्याउन सम्भव छैन । अर्को कुरा नेपाल आउनु मात्र प्राथमिकता होइन, स्वस्थ रहनु त्योभन्दा महत्वपूर्ण हुन्छ ।
विदेशमा रहेका कतिपय सङ्क्रमित नेपालीले आफूहरूलाई त्यहाँकै नागरिकसरह उपचार गरिएको अनुभव सुनाएका छन् । चीनबाट नेपाली ल्याउने तर अरु देशबाट नल्याउने, सीमामा आइपुगेका नेपालीलाई नभित्र्याउने जस्ता भावनात्मक प्रश्न उठाउने गरिएको छ तर यो प्रश्नको जवाफ विश्वव्यापी सङ्क्रमणका सन्दर्भमा प्रश्नकर्ताहरूले नै मनन गर्नु उचित हुन्छ । नेपालभित्र वा बाहिर रहेका प्रत्येक नेपाली सुरक्षित रहनुपर्छ भन्नेमा सरकारले चिन्ताका साथ काम गरिरहेको छ तर समस्या समाधानमा सरकारले मात्र चाहेर शतप्रतिशत उपलब्धि हासिल गर्न सकिने छैन ।
आफू र परिवारलाई सुरक्षित गर्न विदेश तथा स्वदेशमा रहेका सबैले सरकारले जारी गरेका आदेश, व्यक्तिगत सुरक्षा विधि, प्राथमिक उपचार तथा सरसफाइमा ध्यान दिन आवश्यक छ । अवस्था सामान्य भएपछि विदेशमा रहेका नेपाली मातृभूमि फर्कन कुनै रोकतोक हुनेछैन । अहिलेको अवस्थामा आफू, आफ्ना मातापिता, सन्तान र मातृभूमिको सुरक्षार्थ पनि थप जिम्मेवार र प्रतिबद्ध हुन स्वदेशप्रेमी हरेक नेपालीप्रति स्वजनको अपेक्षा छ ।