राजस्व अनुसन्धान विभाग
विकल दम्पतीविरुद्ध मुद्दा दायर : " झण्डै दुई अर्ब मागदाबी "
काठमाडौँ, असोज । राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको स्विकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ करोड मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेल गत जेठमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर यसअघि नै जेलमा छन् । सजाय भोगिरहेकै बेला उनीविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी विभागले अर्को मुद्दा दायर गरेको हो ।
पौडेलकी श्रीमती एलिना बस्नेतविरुद्ध ४ करोड ५८ लाख १२ हजार मागदाबीसहित मुद्दा दायर गरिएको छ । उनीमाथि विदेशी मुद्रा अपचलनमा सहयोगीको भूमिका निर्वाह गरेको आरोप रहेको छ ।
पौडेल दम्पतीविरुद्ध १ अर्ब ८७ करोड ९७ लाख माग दाबीसहित हिजो मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
पौडलमाथि विदेशी मुद्रा अपचलन गरी कारोबार गरेको विदेशी मुद्रा (युएसडी र एसडिजीसमेत) जम्मा हुन आउने नेपाली रुपैयाँ ६१ करोड १३ लाख अपचलन भएको पुष्टि भएको छ ।
विदेशी विनिमय नियमित गर्ने ऐन बमोजिम उनको बिगो रकममा तीन गुणा थप गरी मुद्दा दायर भएको हो ।
पौडेलकी श्रीमती बस्नेतले राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रको उल्लंघन गरेको भन्दै अमेरिकी डलर १ लाख २९ हजार अर्थात नेपाली रुपैयाँ १ करोड ५२ लाख ७० हजार ४७० कायम गरिएको छ ।