काठमाडौँ, असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्।
उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरि काममा द्रूतता दिनुपर्ने बताए ।
‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो ।
टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’
सो क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी रुपमा काम गर्न पनि उनले आग्रह गरे ।
कार्यालय प्रमुहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।