काठमाडौँ, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछ ।
महासभाको उद्घाटन सत्रलगायत अन्य विभिन्न सत्रमा नेपालका तर्फबाट वैश्विक मुद्दाका बहसमा प्रधानमन्त्री ओली सहभागी हुनेछन ।
विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहने राष्ट्रसङ्घको महासभाको प्रमुख सत्र अन्तर्गत ‘कसैलाई पनि पछाडि नछोडौँ ः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गरौँ” शीर्षकमा उनको महत्वपूर्ण सम्बोधन रहने छ ।
संयुक्त राष्ट्रसङ्घ जस्तो बहुपक्षीय मञ्चमा नेपालको उपस्थिति आफैँमा महत्वपूर्ण रहँदा रहँदै अझ अर्थपूर्ण सहभागितामा नेपाली प्रतिनिधिमण्डलले ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
मध्यपूर्व र पश्चिमका विभिन्न मुलुक द्वन्द्वको चपेटामा परिरहेका बेला बुद्धभूमिको शान्ति क्षेत्रबाट शान्तिको सन्देश नेपालले फैलाउन बलियो पहल गर्ने मञ्चका रूपमा महासभालाई लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
त्यस्तै विकसित मुलुकको अधिकतम ऊर्जा उत्सर्जनका कारण उब्जिएको जलवायु परिवर्तनको टड्कारो प्रहारमा नेपालका हिमाल परिरहेकाले त्यसबापतको पुनर्भरण र संरक्षणका लागि शक्तिसम्पन्न मुलुकलाई उत्तरदायी बनाउन साझा मत सिर्जना गर्ने अर्को अवसर नेपालले लिनुपर्नेमा विज्ञहरूको मत छ ।
विश्वमा बहुधु्रवीयता बढेसँगै विभिन्न स्थानमा अशान्ति र युद्ध व्याप्त भइरहेका बेला नेपालले आफ्नो माटोको पञ्चशीलको सिद्धान्त र असंलग्नताको विषयलाई विश्वमा प्रसार गर्ने गरी दृढतापूर्वक अगाडि लैजाँदै गतिलो सन्देश दिनुपर्छ ।