२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांंग्रेस

 " संविधान संशोधन  : संघीयता, समावेशीता र गणतन्त्र मजबुद बनाउँछ "

'संविधानमा भएका कमजोरी, राजनीतिक बाध्यता हटाई संशोधन र पुनरावलोकन गर्न आवश्यक' : महामन्त्री थापा 

बिहिवार , भाद्र २७, २०८१

 

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकनको आवश्यकता महसुस भएको बताएका छन् । 

बिहीबार सानेपास्थित कांग्रेस कार्यालयमा भएको उत्कृष्ट स्थानीय तह सम्मान कार्यक्रममा महामन्त्री थापाले त्यही आवश्यकताका आधारमा कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए ।

महामन्त्री थापाले संविधान संशोधनमार्फत् संघीयता, समावेशीता, गणतन्त्र र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप विस्तार गरेर मजबुद बनाउनुपर्ने बताए । 

विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

महामन्त्री थापाले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए । उनले भने, ‘हामी संविधान संशोधनमार्फत् संघीयतालाई मजबुत बनाउन चाहन्छौँ । '

'लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप विस्तार गर्न चाहन्छौँ । तर त्यो विस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाऔँ । '

'कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरु थिए होलान् । '

'कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ कि ? भन्ने विषयहरू पनि होलान् । ती सबै काम हामीले संविधानको पुनरावलोकनमार्फत् गर्नुपर्छ ।'

उनले एमालेले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्ने कामहरू टुंग्याउनुपर्ने बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार