काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो माद्यामिक शिक्षा परीक्ष (एसईई) मा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।
प्रधानमन्त्री ओलीले नेपालको शिक्षा क्षेत्रको सुधार गर्नको देशभर अनलाइन कक्षा सञ्चालन गरिने बताएका छन् ।
यस वर्षको एसईई परीक्षा र कक्षा १२ को परीक्षाको नतिजा राम्रो नआएको विषयलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने,'एसईई र कक्षा १ को नतिजा राम्रो नआएकाले यसमा सुधार गर्नको लागि सरकारको ध्यानाकर्षण भएको छ । '
आगामी वर्ष यसलाई सुधार गर्दै ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गराउने सरकारले लक्ष्य राखेको छ ।’ जसका लागि अनलाइन माध्यमको सिकाइ प्रभावकारी हुने देखिएकाले यो सिकाइलाई प्रथामिकता दिइने उनले बताए ।
‘काठमाडौंमा अनलाइन शिक्षाको प्रभावकारीता राम्रो देखिएको छ,’ उनले भने, ‘यसको आधारमा पनि देशैभर यो सिकाइलाई लागूको सरकारले योजना बनाएको छ, अनलाइन कक्षा सञ्चालन बारेमा सहज रुपमा सुचारु गर्न दूरसञ्चार,र नेपाल टेलिकमलाई यसको व्यवस्थापन र सहजीकरणका लागि निर्देशन दिइएको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा ड्रपआउटको समस्या पनि बढ्दै गएको र यसको निराकरणको लागि सरकार गम्भीर रहेको बताए । त्यस्तै गुणस्तर शिक्षा प्रदान गर्न पनि सरकार तत्पर रहेको उनको भनाइ थियो ।
निजी तथा सामुदायिक दुवै विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि पाठ्यक्रममा पनि सुधार गर्ने सरकारले योजना बनाएको उनले बताए ।
काठमाडौं विश्वविद्यालयले शिक्षाको क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको कुरालाई सम्बोधन गर्दै उनले भने, ‘यस विश्वविद्यालयले छोटो समयमा पनि राम्रो प्रतिफल दिएको छ।
३ दशको अवधिमै विश्वविद्यालय ठूलो फड्को मारेको छ, स्वेदशी मात्र नभएर विदेशी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीहरु दिक्षित भएका छन्, गुणस्तरीय शिक्षाको लागि प्राथमिकता दिदैं आएको विश्वविद्यालयले देशको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको छ ।’
विश्वविद्यालयको शिक्षाको क्षेत्रको विकासको लागि सरकारले आवश्यक सहयोग, सहकार्य र समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो समय काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच भएको विवाद सामान्य विषय भएको र यो विषय चाँडै नै टुगिंने पनि उनले बताए ।
दिक्षान्त समारोहका प्रमुख अतिथि संस्कृतिविद डा।जगमान गुरुङले धार्मिक र सांस्कृतिक धरोहरहरुको जीर्णेद्वार र सम्बर्द्धन गर्ने जिम्मेवारी विश्वविद्यालयले पाएकोमा खुशी व्यक्त गरे ।
ज्ञान र शिक्षाको विशिष्ट अध्ययन र अभिलेखीकरणमा समर्पित अध्ययन, अनुसन्धान र प्रकाशन गृहको स्थापना पनि विश्वविद्यालयले गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यायका उपकुलपति डा.भोला थापाले विश्वविद्यालयहरूले शैक्षिक मूल्यसँग आर्थिक लक्ष्यहरूलाई एकाकार पार्नुपर्ने आवश्यकताको सामना गरेको बताए ।
उनका अनुसार हामीले हाम्रा कार्यक्रममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना तथा अध्ययन अध्यापनका साथै तिनलाई विश्वव्यापीकरण गर्नु आवश्यक छ ।
काठमाडौं विश्वविद्यालय आफ्नो शिक्षालाई अनुसन्धान र नवप्रवर्तनको अवसर प्रदान गर्नेतर्फ केन्द्रित गरेको उनको भनाइ थियो ।
विद्यार्थीहरूलाई विश्वव्यापी परिवर्तन सँगसँगै नवप्रवर्तनको परम्परालाई सन्तुलनमा राख्न प्रतिबद्ध विश्वविद्यालय प्रतिबद्ध रहेको डा।थापाले बताए ।
बजारको माग अनुरूप समग्र शैक्षिक पाठ्यक्रम र कार्यक्रमहरू प्रस्तुत गरिरहेको बताउँदै उनले भने, ‘गत शैक्षिक वर्षमा विद्यार्थी भर्ना संख्यामा १५ प्रतिशत वृद्धि हुनुलाई हाम्रा प्रयासहरूको प्रतिफलका रूपमा हामीले लिएका छौं ।’
केयुका २३१४ विद्यार्थी दीक्षित
शुक्रबार काभ्रेको धुलिखेल स्थित काठमाडौं विद्यालयमा आयोजित २९औं दीक्षान्त समारोहको दोस्रो चरणमा विभिन्न संकायका २३१४ विद्यार्थी दीक्षित भएको एकमाया पुनले जानकारी दिइन् ।