काठमाडौँ, भदौ । प्रतिनिधिसभा बुधबार बसेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का सांसदले नियमापत्ति गरेका छन् ।
सांसद भट्टराईले धारणा राख्ने क्रममा - 'हिंसा' भन्ने शब्द प्रयोग गरेपछि माओवादी सांसदले आपत्ति जनाएका हुन ।
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति गरेका हुन ।
सदनमा माओवादी र एमाले सांसदबीच चर्चाचर्की पनि भएको थियो । संसदमा भनाभन भएपछि सभामुख देवराज घिमिरेले यो विषयमा दोहोरो बहस नगर्न पटक- पटक अनुरोध गरेका थिए ।
बैठकमा विशेष समयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियम आपत्ति जनाएका थिए ।
सांसद सापकोटाले भट्टराईको शब्द गैरसंसदीय र अमर्यादित भएको भन्दै आपत्ति जनाए । सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै सचिव भट्टराईलाई बोल्न आग्रह गरे । सो क्रममा भट्टराईले लोकतन्त्रमा बोल्न नदिनु पनि हिंसा भएको तर्क अघि सारेका थिए ।
संसदमा दुई राजनीतिक दलका नेताबीच एकअर्कामा आक्रोश पोख्न थालेसँगै सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिएका थिए ।
सांसद पौडेलले नेपालको संविधानले शान्ति प्रक्रियालाई हिंसाका रुपमा प्रयोग गर्न नपाइने भन्दै संसदको रेकर्डबाट सांसद भट्टराईले बोलेका शब्द हटाउन माग गरेका थिए ।
सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई नियमापत्ति अनुसार बोल्न समय दिए । पाण्डेले माओवादी जनयुद्धको अपमान संविधानले गर्ने छुट नदिएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे ।
सभामुखले संसद सचिवालयलाई सो शब्द कसरी प्रयोग भएको छ भन्ने बारेमा बुझेर निर्णय लिन भन्दै निर्देशन दिए पनि प्रतिवाद जारी रह्यो।
लगत्तै नेकपा (एमाले) सांसद रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा भएको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको जिकिर गरे ।
सभामुखले संसदको मर्यादालाई ख्याल राख्न आग्रह गरेसँगै माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीलाई बोल्न समय दिएसँगै बैठक सञ्चालन भएको थियो ।