काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताए ।
मंगलबार महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा सरकारी वकिललाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले नेताले आफ्नो धारणा राखेपछि दुई दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए ।
उनले विधेयक संसदबाट पारित हुनुलाई ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताए। प्रधानमन्त्री सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी गरे।
उनले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताए ।
उनले भने, ‘‘हामी टिआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएर आज प्रतिनिधि सभामा पेस भएको छ।
त्यस सम्बन्धमा भोलि राजनीतिक दलका नेताले राय व्यक्त गर्नुहुन्छ।त्यसपछि त्यो एक दुई दिनमा पारित हुन्छ र राष्ट्रिय सभामा जान्छ ।’’
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले विदेशी नक्कल गरिरहनु आवश्यक नभएको प्रष्ट पारे ।