काठमाडौँ, साउन । नेपाल सरकारबाट विभिन्न मुलुकका लागि सिफारिस भएका १८ राजदूतका विषयमा संसदीय सुनुवाइ समितिले उजुरी तथा सूचना आह्वान गरेको छ ।
विभिन्न १८ मुलुकका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा सरकाबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको हो ।
सरकारबाट सिफारिस भएका राजदूतहरूमा शंकरप्रसाद शर्मा भारत, श्रीकान्त रिजाल अस्ट्रेलिया, नरेशविक्रम ढकाल साउदी अरेबिया, प्रा.डा. कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, जंगबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्रा.डा. कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल, रीता धिताल पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो ।
राजदूतमा सिफारिसहरूको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
सुनुवाईका लागि प्रस्ट आधार र सबुतप्रमाणसहित सार्वजनिक उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने निर्णय भएको सभापति जबराले बताए ।
‘समितिले जुन राजदूतहरूको नाम प्रस्तावित भएको छ, उनीहरूको नाम आएपछि छलफल र निर्णय गर्ने भन्ने कुरा भएको छ । सबै कुरा सांसदहरूलाई वितरण गरिएको छ । यो कुरा पूरा भएपछि पर्सि बैठक बसेर टुंगोमा पुर्याउनेछौँ ।’
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदुतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।