२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली सेना

प्रधान सेनापति बने रथी सिग्देल  : ' आजदेखि कार्यभार सम्हाल्दै '

बिहिवार , श्रावण २४, २०८१

 

काठमाडौँ, साउन । प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन ।  

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन । 

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै  छन ।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुने गरी रथी सिग्देललाई कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन ।  

प्रधान सेनापति शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन ।  

प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका छन । 

कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गरे ।  

त्यस अवसरमा पूर्वप्रधान सेनापतिहरू, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थित थिए । 

प्रधान सेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

कामु प्रधान सेनापति सिग्देल परिचय

बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन ।  आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन । 

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिनुभएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन ।  

अठतीस वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इमर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । 

बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका(नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । 

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी ) को सचिवका रूपमा पनि उनले काम गरेका छन ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन ।  

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन ।  

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुन । 

सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्‍याएबापत उनले दुई पटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन ।  

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी तोकेको छ । 

यसका अलावा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ । 

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्‍याउँदै आएको छ । 

नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ । 

संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठुलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । 

त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार ८१८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्‍याइसकेका छन् भने हाल विभिन्न ११ मिसनमा पाँच हजार ९१६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार