काठमाडौं, साउन । देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका अनुसार, हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको छ ।
इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।
डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको छ ।
जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ ।
चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् ।
लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन सुझाव छ ।
कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’