काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाललाई नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले केही महत्त्वपूर्ण नियुक्ति गरेको जानकारी दिएका छन ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल, नुवाकोटलाई नियुक्त गर्ने । प्रधानमन्त्रीकै विकास सल्लाहकारको रुपमा यस अघिका पूर्व अर्थमन्त्री, योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्व गभर्नर डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय भएको छ ।’
सरकारले मन्त्रीपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ ।
बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोक्ने निर्णय हो ।
प्रवक्ता गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औं बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । रासस