काठमाडौँ, साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।
बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले आफूले नेपालमा महिला प्रधानमन्त्री भएको हेर्न चाहेको बताए ।
नेता कोइरालाले महिलाहरुमा समाजलाई डोर्याउन सक्ने क्षमता हुने भन्दै महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताए ।
उनले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको उल्लेख गरे । नेता कोइरालाले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।
उनले भने, ‘चार पटक चुनाव जितेँ मैले आफ्नो क्षेत्रबाट । योगदान महिलाहरुकै थियो । महिलाहरुलाई उच्च सम्मान दिनुपर्छ । म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत अधिकार पाउनुपर्छ । तर तपाईंहरु सशक्त भूमिका निर्वाह गर्नुस् । '
' घरमा बसेर चुलाचौका गर्ने होइन । नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ ।;
उनले कांग्रेसले महिलालाई प्रधानमन्त्री बनाउने हिसाबले संगठन विस्तार गरेर अघि बढ्नुपर्ने बताए । 'महिलाहरुलाई ब्याक बेन्चर बनाएर हुँदैन, अगाडि सार्नुपर्छ । म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर । '
' आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमन्त्री पनि बन्नुहुन्छ । तपाईंहरु सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटिलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ,' उनले भने ।